गान्तोक: भारतिय मौसम विभाग (IMD) ले आज सिक्किमका केही स्थानहरूमा बाक्लो कुहिरो लाग्ने र उच्च पहाडी भेगहरूमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ।
पहाडी इलाकामा हिमपात कारण चिसो अत्यधिक बढेको छ। हिमपातले गर्दा पूर्व सिक्किमको छाङ्गु तालबाट नाथुला पास र नयाँ बाबा मन्दिरतर्फ जाने बाटोमा हिउँ थुप्रिएर सडक अवरुद्ध भएको छ, जसले यात्रुहरू र पर्यटकहरूलाई समस्या पारेको छ।
हिउँको आनन्द उठाउन चाहने पर्यटकका लागि जेएन रोडको माइलदेखि छाङ्गु तालसम्मको बाटो भने खुला र आवागमन गर्न सकिने अवस्थामा रहेको छ।
प्रशासनले यात्रुहरूलाई मौसमको अपडेट हेरेरमात्र यात्रा योजना बनाउन अनुरोध गरेको छ, किनभने आगामी दिनहरूमा पनि हिमपात जारी रहने सम्भावना छ।
यसैबीच, भारतिय मौसम विभागले उत्तर–पूर्वी भारतका केही स्थानहरू असम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरम र त्रिपुरामा मेघगर्जनसहित हुरी बतास चल्ने सम्भावना रहेको जानकारी दिएको छ।





