गान्तोकः सिक्किममा जनजाति बन्नबाट छुटेका 12 जाति समुदायको छाता सङ्गठनले आज मङ्गलबार गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर जनजाति प्रक्रिया पूरा गर्नका लागि भइरहेका प्रगति बारे जानकारी गराएको छ। पत्रकार सम्मेलनलाई सङ्गठनका महासचिव मणिकुमार प्रधान र डा. एसके राईले सम्बोधन गरेका थिए जस अवसरमा 12 जाति समुदायका प्रतिनिधिको उपस्थिति रहेको थियो।
अहिलेसम्मको प्रगति अनुसार आगामी 31 मार्च सम्ममा सरकारलाई 12 समुदायको एथनोग्राफी रिपोर्ट बुझाउने लक्ष्यका साथ काम भइरहेको डा. एसके राईले बताए। गत 10 फरवरीका दिन नयाँ दिल्लीमा 12 जाति समुदायको जनजाति मान्यताका लागि सिक्किम सरकारले गठन गरेको उच्चस्तरीय समितिसँग भएको दोस्रो बैठकमा मुख्यमन्त्री पीएस गोलेले उच्चस्तरीय समितिलाई दिएका विभिन्न निर्देश र सुझाउका आधारमा सबै समुदायको एथनोग्राफी रिपोर्ट तयार पारिने जसलाई भेटिङ गरेपछि मात्रै समाज कल्याण विभाग मार्फत सरकारमा पेश गरिने बताए।
12 जाति समुदायको एथनोग्राफी रिपोर्ट आरजीआईमा स्वीकृत हुने हिसाबमा तयार पार्नका लागि सबै जाति समुदायका प्रतिनिधिले सिक्किम सरकारले गठन गरेको उच्चस्तरीय समितिसँग आगामी 24 र 25 फरवरीमा दिन बैठक गर्नेछन। यसपछि 31 मार्च भित्रमा सबैको रिपोर्ट तयार पार्ने र अप्रेलमा प्रकाशन गरेर आरजीआईलाई बुझाउने लक्ष्य राखिएको छ। रिपोर्ट आरजीआईमा बुझाउन अघि सिक्किम सरकारले यसलाई विधानसभामा पारित गराउने सम्भावना पनि रहनसक्ने 12 समुदायको छाता सङ्गठन ईकोसका अध्यक्ष डा. एसके राईले आज बताए।
सरकारले गठन गरेको उच्चस्तरीय समितिले 10 फरवरीको दिल्ली बैठकमा पेश गरेको प्रारम्भिक रिपोर्टमा धेरै सुधार र तथ्यलाई जोड्नुपर्ने देखिएकाले मुख्यमन्त्री गोलेले दिएको निर्देशका आधारमा पुनः काम शुरु भएको समितिको भनाइ छ। नयाँ एथनोग्राफी रिपोर्टलाई प्रभावकारी बनाउनका लागि उच्चस्तरीय समितिका प्रतिनिधिले सबै 12 जातिको जनजाति बन्ने अवस्थाबारे अध्ययन र प्राथमिक तथ्य सङ्ग्रह गर्न फिल्ड भिजिट गर्नसक्ने डा. राईले जानकारी दिएका छन्।
12 जातिको जनजाति मान्यताबारे आगामी मई महिनामा प्रधानमन्त्रीको सिक्किम भ्रमण समयमा पनि मुख्यमन्त्रीले सबै जात समुदायका प्रतिनिधिका साथमा प्रधानमन्त्रीसँग भेट गर्ने सम्भावन रहेको पनि डा. एसके राईले जानकारी दिएका छन्। मुख्यमन्त्री पीएस गोलेको नेतृत्व र प्रधानमन्त्री नरेन्द्र मोदीको आशीर्वादले सिक्किमका छुटेका 12 समुदायले जनजाति पाउनेछन भन्ने कुरामा ईकोस विश्वस्त देखिएको छ।





