गान्तोक: सिक्किम सरकारले महिला कर्मचारीहरूका लागि घोषणा गरेको मातृत्व बिदा सुविधामा सुधार गरेको छ। महिलाहरूको विभिन्न सुविधालाई मध्यनजर राखेर सरकारले मातृत्व बिदालाई दुई भागमा विभाजीत गरिएको छ जसका लागि सरकारले नयाँ अधिसूचना जारी गरेको छ।
नयाँ अधिसूचना अनुसारसरकारले महिला सरकारी कर्मचारीहरूका लागि महत्वपूर्ण बिदासम्बन्धी सुविधा सुधार गर्दै सिक्किम सरकार सेवा (बिदा) (संशोधन) नियम, २०२५ जारी गरेको छ। यो नियम संविधानको धारा ३०९ को प्रावधानअनुसार लागू गरिएको हो र तत्काल प्रभावकारी बनेको छ।
संशोधित नियमअनुसार, महिला सरकारी कर्मचारीहरूलाई १८० दिनको मातृत्व बिदा (maternity leave) पूर्ण तलबसहित उपलब्ध गराइनेछ। यसमध्ये ६० दिनको बिदा नानी जन्मिने अनुमानित मितिभन्दा अगाडि लिन सकिनेछ। यो निर्णयले कार्यरत महिलाहरूको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउने तथा उनीहरूको पारिवारिक जिम्मेवारीलाई ध्यानमा राखेर गरिएको कदम मानिएको छ।
यसका साथै, नयाँ व्यवस्था स्वरूप नियम २१ए अन्तर्गत बाल हेरचाह बिदा (Child Care Leave) को प्रावधान थप गरिएको छ। यो प्रावधानअनुसार, १८ वर्षभन्दा कम उमेरका नाबालक सन्तान भएका महिला कर्मचारीलाई अधिकतम १८० दिनसम्म बाल हेरचाहका लागि बिदा दिन सकिनेछ। सन्तानको परीक्षा, बिरामी वा अन्य आवश्यक आवश्यकताका बेला आमाहरूलाई आफ्ना बालबालिकाको हेरचाह गर्न सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो।
बाल हेरचाह बिदाका क्रममा कर्मचारीले बिदामा जानुअघि पाउँदै आएको तलब बराबरको तलब पाउनेछ। साथै, यो बिदा नियमित बिदा खाताबाट कटौती गरिने छैन। सन्तान १८ वर्ष पूरा नहुँदासम्म अधिकतम ३ पटकसम्म यो बिदा लिन सकिने व्यवस्था गरिएको छ।





