गान्तोक: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाको पहलमा तीन दिने सिक्किम ब्लु ड्युक महोत्सव भोलि 14 फरवरी देखि गान्तोक रानीपुल नजिक सरमसा गार्डनमा आयोजना हुने भएको छ। सिक्किम सरकारको पर्यटन विभाग र प्रेस क्लब अफ सिक्किमको सहयोगमा तीन दिनको महोत्सवको आयोजना सिक्किम 365 ले गरिरहेको छ।
महोत्सवको मुख्य उद्देश्य विद्यार्थी तथा युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (AI), ड्रोन र रोबोटिक्स जस्ता नयाँ प्रविधिहरूसँग परिचित गराउनु रहेको छ। यस अवसरमा प्रविधि विज्ञहरूद्वारा व्यावहारिक कार्यशाला र प्रशिक्षण दिइनेछ, जसले सिक्किमका विद्यार्थीहरूलाई भविष्यका सीपहरू हासिल गर्न सहयोग पुऱ्याउने विश्वास राखिएको छ।
यसमा सिक्किमको कला, संस्कृति र परिकारको समेत प्रदर्शन गरिने छ। यो महोत्सवले विद्यार्थीहरूलाई नवप्रवर्तन (innovation) र सिर्जनशीलताको अवसर प्रदान गर्ने सांसद इन्द्रहाङ सुब्बाले जानकारी दिएका छन्। यस अवसरमा गान्तोक वरिपरिका विद्यार्थी सामेल गरिने र भविष्यमा गान्तोक बाहिर पनि कार्यक्रम आयोजना गर्ने सोच रहेको बताए। यसरी नै ट्राभल एजेन्ट एसोसिएसन अफ सिक्किमका अध्यक्ष नोर्गे लाचुङ्पाले महोत्सवको अवसरमा सहभागीलाई पाक कला पनि सिकाउने योजना रहेको जानकारी दिएका छन्।
तीन दिनको महोत्सवको उद्वघाटन कार्यक्रममा विधायक आदित्य गोले मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन् भने आगामी 15 फरवरी दोश्रो दिनको कार्यक्रममा सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोले मुख्य अतिथिको रूपमा उपस्थित रहनुहुनेछ। सो अवसरमा स्थानीय लगायत बलिउड एवं नेपालका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। कार्यक्रममा बलिउडका चर्चित कलाकार राजपाल यादवको पनि प्रस्तुति रहने बताइएको छ।





