गान्तोक: उत्तर सिक्किमको चुङथाङमा ट्रकले किचेर एक सात वर्षीया बालिकाको मृत्यु भएको छ। गत सोमबार दिउँसो एक दुखद दुर्घटनामा जीआरइएफ ट्रक डिलबाट खस्दा राबुम गाउँमा ७ वर्षीया बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। उक्त ट्रक ३६ वर्षीय सन्तोष तामाङले चलाएका थिए।
सोमबार दिउँसो करिब २:३० बजे भएको उक्त घटनाबारे एएसआई कर्मा छुतिम लाछेनपाले पुलिसलाई लिखित उजुरी दिएका छन्। दुर्घटनाका समय उनी गस्तीमा थिए। गाउँलेहरूले दुर्घटनाबारे जानकारी दिएपछि उनी घटनास्थल पुगे। उक्त ट्रक करिब ५० फिट तल खसेर काठको कच्चा घरमा ठोक्किएको थियो। घरभित्र तीन जना मानिस रहेका थिए।
घटनामा श्रीमती सोमित लेप्चा र ४ वर्षको बालक निमा लामा घाइते भएका छन्। तर ७ वर्षीया बालिका पासाङ दोमा शेर्पाको घटनास्थलमै मृत्यु भएको थियो। उनलाई ट्रकले किचेको र गाउँलेहरूले उद्धार गर्दा मृत अवस्थामा भेटिएको बताइएको छ।
चालक सन्तोष तामाङलाई पुलिसले पक्राउ गरेको छ।





