गान्तोक: सिक्किममा लामो समयदेखि सुकुम्बासीका रुपमा रहेका मानिसहरूलाई सरकारले जमिन प्रदान गर्दै आएको छ। सिक्किम सुकुम्बासी कल्याण योजना अन्तर्गत 27 परिवारलाई मुख्यमन्त्री पीएस गोलेले जमिन पर्चा र एलटमेन्ट अर्डर वितरण गरे।
मुख्यमन्त्री पीएस गोलेले यी सबै परिवारको सरकारले घर निर्माण गरिदिने घोषणा गरेका छन्। 4 फरवरी एसकेएम पार्टीको 13औं स्थापना दिवसको अवसरमा रिनाक निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री गोलेले आठ परिवारलाई सिक्किम गरीब आवास योजना अन्तर्गत घर निर्माणको अनुमति पत्र पनि हस्तान्तरण गरेका छन्।
यस अवसरमा बोल्दै मुख्यमन्त्री पीएस गोलेले गत विधानसभा चुनाउ अघि घर निर्माण गर्न सरकारले एलटमेन्ट अर्डर वितरण गरेका सबै गरीब परिवारको घर निर्माण गरिदिने बताए। तथापि कतिपय मानिसहरूले तीन चार तलाको पक्का घर भएर पनि सिक्किम गरीब आवास योजनाको एलटमेन्ट अर्डर पाएका छन् भने त्यसता परिवारको घर नबनाउने र उनीहरूलाई अन्य सरकारी सुविधा दिइने बताए।





