गान्तोकः नशामुक्त सिक्किमको थिममा दक्षिण सिक्किमको याङगाङको क्रोनिकल ब्रदर्श स्पोर्टिङ्ग क्लबले आयोजना गरेको 22 दिने शितकालिन फुटबल प्रशिक्षण शिविर सम्पन्न भएको छ। यो आवासीय प्रशिक्षण शिविर 16 वर्ष मुनिका फुटबल प्रतिभाहरूको निम्ति आयोजना गरिएको थियो।
याङगाङ स्कूलमा आज आयोजित शिविरको समापन अवसरमा सिक्किम सरकारको शिक्षा साथै खेल तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेत मुख्य अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रममा क्षेत्र विधायक तथा विधानसभा उपाध्यक्ष राजकुमारी थापा, मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा, जिल्ला तथा ग्राम पञ्चायत साथै सम्बन्धित अन्यको उपस्थिति रहेको थियो।
20 दिने आवासीय प्रशिक्षण शिविर श्रीपताम खेल मैदानमा जसमा 54 जना फुटबल प्रतिभाले भाग लिएका थिए। समाजमा विभिन्न प्रकारको नशा प्रयोग गर्नेहरुको सङ्ख्या बढ्दै गरेको अवस्थालाई ध्यानमा राखेर नशा मुक्त समाज निर्माणको पहल अन्तर्गत फुटबल प्रशिक्षण शिविर आयोजना गरिएको बताइएको छ। फुटबल बाहेक क्रोनिकल ब्रदर्शले नशा मुक्त अभियान, स्वच्छता, पर्यावरण सुरक्षा आदिको क्षेत्रमा पनि काम गर्दै आएको छ।
फुटबल प्रशिक्षण लिनेको सङ्ख्या लगातार बढीरहेको अवस्थामा क्रोनिकल ब्रदर्शले सिक्किम सरकारको खेल तथा युवा मामिला विभागका मन्त्री समक्ष याङगाङमा फुटबल एकाडेमी स्थानमा गरिदिन आग्रह गरेको छ। क्रोनिकल ब्रदर्शको पक्षबाट प्रशिक्षक निकोलस राईले नवप्रतिभा खेलाडीलाई प्रशिक्षण दिंदै छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै विधानसभा उपाध्यक्ष राजकुमारी थापाले क्रोनिकल ब्रदर्शले स्थानीय फुटबल प्रतिभाहरूको विकास गराउन साथै उनीहरूलाई विसङ्गतिबाट बचाउन उत्कृष्ट पहल गर्दै आएको बताइन्। 54 जना किशोर किशोरीलाई लिएर प्रशिक्षण आयोजना गर्नु सहज विषय नरहे पनि क्रोनिकल ब्रदर्शले यो अभिभारा उठाउंदै शिविर आयोजन गरेर कम से कम प्रशिक्षार्थीलाई मोबाइल फोनको लतबाट टाढा राख्न सकेको साथै उनीहरूको आत्माविश्वास दह्रिलो गराउन सहयोग पुऱ्याएको भन्दै आयोजकप्रति आभार व्यक्त गरिन्। उनले राङगाङ याङगाङ निर्वाचन क्षेत्रको पक्षमा शिक्षा र खेलकुद विकासमा सम्बन्धित विभिन्न माग विभागका मन्त्री समक्ष राखिन्।
फुटबल प्रशिक्षण आयोजनाका लागि मन्त्री राजु बस्नेतले क्रोनिकल ब्रदर्शलाई धन्यवाद दिए। उनले सिक्किम सरकारले शिक्षाको क्षेत्रमा नयाँ प्रयोग गर्दै आएको जानकारी दिंदै चिफ मिनिस्टर मेन्टरशीप कार्यक्रमले विद्यार्थीको बोर्ड परीक्षा नतीजामा सुधार हुने विश्वास राखिएको बताए। स्कूल खुलेको पहिलो दिनमा नै विद्यार्थीलाई किताब वितरण गर्ने प्रयासमा शिक्षा विभागले काम गरिरहेको मन्त्री बस्नेतले बताए। उनले क्षेत्रबाट राखिएका माग क्रमैसँग पुरा गरिने वचन दिएका छन्। शिविरको समापन अवसरमा सबै सहभागीलाई प्रमाण पत्र वितरण गरिएको थियो।





