गान्तोक: अफेक्टेड सिटिजन्स अफ टिस्टा (एसीटी) ले भारतको वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय (MoEFCC) द्वारा टिस्टा-III बाँध पुनर्निर्माणका लागि दिएको स्वीकृतिप्रति कडा आपत्ति जनाएको छ।
जानकारी गराइन्छ, १०जनवरी २०२५ मा MoEFCC ले वातावरणीय स्वीकृति परिमार्जनलाई अनुमोदन गर्दै नयाँ ११८.६४ मिटर अग्लो बाँध निर्माण गर्न अनुमति दिएको छ, जुन पहिलाको ६० मिटर अग्लो संरचनाको तुलनामा लगभग दोब्बर उचाइको छ। यो निर्णय जनसुनुवाइबिनै लिइएको छ।
एसीटीले यस कदमलाई विगतका ‘विपत्तिहरूको उपेक्षा’ भन्दै आलोचना गरेको छ। विशेष गरी, ४ अक्टोबर २०२३ मा भएको टिस्टा-III बाँध दुर्घटनामा १०० भन्दा बढीको ज्यान गएको र व्यापक क्षति पुगेको घटनालाई ‘नजरअन्दाज’ गरिएको उनीहरूको आरोप छ। हिमाली क्षेत्रको उच्च भूकम्पीय संवेदनशीलता भएकाले यस्तो परियोजना ‘अव्यावहारिक’ र ‘असुरक्षित’ हुने एसीटीको दाबी छ।
एसीटीले एउटा प्रेस विज्ञप्तिमा भनेको छ, “१९९९ मा MoEFCC ले जारी गरेको निर्देशनको उल्लङ्घन भएको पनि औंल्याएको छ, जसमा टिस्टा नदी बेसिनको वहन क्षमता अध्ययन सम्पन्न नभएसम्म सिक्किममा कुनै नयाँ परियोजनालाई वातावरणीय स्वीकृति नदिइने उल्लेख थियो।”
बाँध पुनर्निर्माणका लागि अनुमानित लागत ₹१४,००० करोड, पुनर्स्थापनाका लागि ₹१०,००० करोड, र थप ₹५,००० करोड खर्च लाग्ने बताउँदै एसीटीले सरकारलाई यो रकम बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा खर्च गर्न आग्रह गरेको छ।
परियोजनाको तुरुन्तै रद्दको माग गर्दै, एसीटीले MoEFCC लाई यसको स्वीकृति फिर्ता लिन र टिस्टा-III बाँधलाई स्थायी रूपमा बन्द गर्न आग्रह गरेको छ।





