सिक्किमले देखेको २०२४

गान्तोकः फेरि एउटा वर्ष बित्यो अर्को नयाँ वर्षलाई स्वागत गर्दै। नयाँ वर्ष आउनु, क्रमशः पुरानो भएर बित्नु र फेरि अर्को नयाँ वर्ष आउनु मानवद्वारा निर्धारित समय तालिका हुन्। निश्चित समयलाई मिलाएर बनाइएको एउटा वर्षले मानव जीवन र सभ्यतामा कयौं यादगार घटनाहरू दिएर जान्छ जसलाई मानिसले लामो समयसम्म सम्झिनु पर्ने हुन्छ खुशी या दुखद क्षणका रुपमा। यस्तै मध्येको ३६५ दिन वा एक वर्षको समय तालिकामा परेको २०२४ विदा भएको छ २०२५ लाई स्वागत गर्दै। यो बित्दै गरेको एक वर्ष सिक्किमको लागि धेरै दृष्टिकोणले स्मरण गर्नुपर्ने वर्ष बनेको छ। यो वर्ष सिक्किम राजनीति, प्राकृतिक आपदा, विभिन्न दुर्घटना, खेलकुद, मनोरञ्जन आदि दृष्टिकोणले महत्त्वको र यादगार वर्ष बन्दै बितेको छ।

राजनीति

२०२४ को शुरुआत राजनीतिक रुपले सिक्किमको सत्तामा रहेको एसकेएम पार्टीका लागि निकै महत्त्वपूर्ण थियो। सिक्किमको एकमात्र राज्यसभा सीटका लागि १९ जनवरी २०२४ मा चुनाउ हुनु थियो। १९ जना विधायक लिएर सरकारमा रहेको एसकेएम, १२ भाजपा विधायक अनि एकजना एसडीएफ विधायक भएको सिक्किम विधानसभाले कोही पनि एसकेएम कार्यकर्तालाई राज्यसभा सांसद चुन्नेछ भन्ने व्यापक सम्भावनहरू बीच सत्तापक्षले भाजपा विधायक दोर्जी छिरिङ (डीटी) लेप्चालाई निर्विरोध राज्यसभा सांसद बनाएर सबै राजनीतिक सम्भावना र अड्कलबाजीमा बिराम लगाइदिएको थियो।

जनवरी महिनाको राज्यसभा चुनाउ अप्रेल महिनामा हुने सिक्किम विधानसभा चुनाउको समिकरण तयार पार्ने घटनाका रुपमा सिक्किमले हेरेको थियो। डीटी लेप्चा राज्यसभा चुनाउमा निर्विरोध निर्वाचित हुनुलाई सिक्किमको राजनीतिले विधानसभा चुनाउमा सत्तारुढ एसकेएम पार्टी र सरकारमा सहयोगी दलका रुपमा रहेको भाजपामाझको चुनाउ पूर्व गढबन्धन निश्चित देखेको थियो। तर जब सिक्किममा अप्रेल १९ मा विधानसभा चुनाउ हुने मिति तय भयो चुनाउ टिकट वितरण अघिको समयसम्म विभिन्न अड्कलबाजीले राजनीतिक माहोल गर्मियो तर अधिकाँस सिक्किमेले सोचेको चुनाउ पूर्व एसकेएम भाजपा गठबन्धन सिक्किममा भएन। चुनाउ अघिसम्म सहयोगी दलका रुपमा मानिएका एसकेएम र भाजपा बेग्लाबेग्लै चुनाउ मैदानमा गए। १९ सिटको प्रथम सरकार बनाउने एसकेएम ३१ सीट लिएर दोस्रो सरकारमा गयो, १२ सीटको सहयोगी भाजपा शून्य भयो अनि एसडीएफले १ सीट जित्यो। २०२४ को विधानसभा चुनाउले २५ वर्ष मुख्यमन्त्री र ४० वर्ष विधायक रहेका पवन चामलिङलाई पहिलोपल्ट चुनाउमा हारको अनुभव दियो अनि चुनाउ सकिएको लगभग एक महिना नबित्दै एसडीएफ पार्टीलाई विधायक बिहिन बनाइदियो।

२०२४ को सिक्किम विधानसभा चुनाउले एसकेएम पार्टीलाई दोस्रो कार्याकालमा नै ३२ मा ३२ विधायकको मजबूत सरकार बनाउने अवसर दिएर गएको छ। २०१३ मा पार्टी गठन गरेर २०१४ मा १० विधायक अनि २०१९ मा १९ जना विधायकको पहिलो सरकार चलाएको एसकेएमले २०२४ को चुनाउमा ३२ मा ३१ सीट जित्नु सिक्किमको राजनीति इतिहासलाई लामो समयसम्म सम्झना गराउने घटनाक्रम हो जो २०२४ को महत्त्वपूर्ण राजनीतिक घटनाक्रम हो। यसै वर्षको राजनीतिक घटनाक्रममा मुख्यमन्त्री पीएस गोलेकी धर्मपत्नी कृष्ण कुमारी राई नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट चुनाउ लडेर विधायक चुनिइन अनि सिक्किम विधानसभामा विधायकको रुपमा शपथ ग्रहण गरेको २४ घण्टा नबित्दै विधायकबाट राजीनामा दिइन। विधानसभा चुनाउ अघि भाजपा विधायका रुपमा रहेका जङ्गुका पिञ्चो नामग्याल लेप्चा, याङगाङका राजकुमारी थापा र मार्ताम रुम्तेकका सोमान छिरिङ भेञ्चुङ्पा एसकेएममा सामेल भएर टिकट पाए, जिते अनि पिञ्चो नामग्याल सरकारको मन्त्री र राजकुमारी थापा सिक्किम विधानसभाको पहिलो महिला उपाध्यक्ष बनिन्। सिक्किमको राजनीतिले पहिलोपल्ट शेर्पा जातिबाट मिङ्मा नर्बु शेर्पालाई सिक्किम विधानसभा अध्यक्ष बन्ने अवसर पनि २०२४ मा नै दियो। विधानसभा चुनाउमा सक्रिय देखिएका नेता र पार्टीहरू चुनाउपछि लगभग निष्क्रिय बनेपनि सिटिजन एक्सन पार्टी सिक्किम भने चुनाउपछि पनि सक्रिय देखिएको छ।

२०२४ को राजनीति र चुनाउले भोजराज राईलाई लामो समयपछि विधायक हुँदै मन्त्री बनायो, एसडीएफ कालका मन्त्री थिन्ले छिरिङ भोटियाले एसकेएमको टिकटमा जितेर विधायक बने अनि पूर्ण गुरुङले एसडीएफ पछि फेरि एसकेएमको टिकटमा जितेर मन्त्री बन्ने अवसर पाए। २०१९ मा एसडीएफबाट टिकट नपाउँदा एसकेएम गएका तेञ्जिङ नर्बु लाम्टाले यसपटक एसडीएफको टिकटबाट एसकेएमका शीर्ष नेता कुङ्गा निमा लेप्चालाई पराजित गरेपछि पुनः एसकेएममा नै सामेल भएर एसडीएफलाई विधायकशून्य बनाइदिए। भाइचुङ भोटियाको चुनावी राजनीतिबाट सन्यास, एसडीएफका सक्रिय नेताहरूको चुनाउमा हारपछि पार्टीबाट राजीनामा, एसडीएफले चुनाउ पराजयपछि सबै समितिको बिघटन गरेर नयाँ समिति नबनाउनु, सिटिजन एक्सन पार्टीमा चुनाउ अघि अध्यक्ष बनेर चुनाउ पराजयपछि भरत बस्नेतले राजीनामा दिनु, गणेश राई सिटिजन एक्सन पार्टीमा अध्यक्ष बन्नु आदिजस्ता धेरै अन्य राजनीतिक घटना २०२४ मा घटे।

प्रकोप

प्राकतिक प्रकोप र आपदाका घटनाले २०२४ मा सिक्किमलाई निक्कै नै सतायो। सिक्किमको राजनीतिक इतिहासमा ३२ मा ३१ सीट जितेर दोस्रो सरकार गठन गर्न एसकेएमले शपथ ग्रहणको तयारी गरेकै बिहान दक्षिण सिक्किमको याङगाङ मझुवा गाउँमा गएको पैह्रोले तीनजनाको ज्यान लियो। यसबाट सात परिवार पूर्ण रुपले बिस्थापित बने, अन्य धेरै घरलाई झोखिम बड्यो। अर्कोतिर १३ जूनका उत्तर सिक्किममा भएको अत्याधिक वर्षाले मगन लगायतका यस वरपरका धेरै गाउँलाई पैह्रोले प्रभावित बनायो। मगन वरिपरीका पैह्रोले १३ जून २०२४ मा कूल ६ जनाको ज्यान लियो र धेरै मानिसहरूलाई बेघर बनायो। ४ अक्टोबर २०२३ को टिस्टा त्रसादिले उत्तर सिक्किमको सम्पर्कका सबै पुल बगाएपछि सरकारले साङ्कलनबाट टिस्टा नदी पार गरेर उत्तर सिक्किमका माथिल्ला भागमा जान बेली पुल निर्णण गरेको थियो। यो पुललाई पनि १३ जूनको टिस्टा बाढले बगाएर उत्तर सिक्किमको सबै सम्पर्कलाई विच्छेद बनाइदियो। पछिबाट सीमा सड़क सङ्गठन र सेनाको सहयोगमा फिदाङमा पुल निर्माण गरेर उत्तर सिक्किमको यातायात केही बहाली गरिएको थियो भने मगनबाट नागा-टुङ हुँदै चुङ्थाङ जाने सड़कलाई पनि लगभग १३ महिनापछि सरकारले सुचारु गराएको छ।

अर्कोतिर २०२३ को टिस्टा त्रासादीपछि धेरै स्थानमा क्षतिग्रस्त बनेको राष्ट्रिय राजमार्ग १० लाई १३ जून २०२४ को टिस्सा बाढ़ले थप क्षति पुऱ्याएपछि २०२४ को वर्षाको मौसममा लगभग तीन महिना सिक्किमले राष्ट्रिय राजमार्गको समस्या झेल्नुपऱ्यो। राजमार्गबाट यातायात नहुँदा सिक्किमले समय र आर्थिक दुवैको नोकसानी यस वर्ष बेहोर्नुपऱ्यो। पैह्रो र वर्षाले सिक्किम राज्यभित्र अन्य विभिन्न स्थानलाई जोड्ने सडकहरू पनि धेरै प्रभावित बने जसमा मल्ली, लिङ्गी-पायोङ, डिक्चु-सिङ्ताङ सड़क, सिरवानी एनएचपीसी पैह्रो, सिरवानी तार्कुको नागधारा पैह्रो आदि प्रमुख थिए।

खेलकुद

खेलकुदको क्षेत्रमा २०२४ सिक्किमका लागि निकै फलदायी रह्यो। कोभिडका कारण बन्द भएको सिक्किमको प्रतिष्ठित गभरनर्स गोल्डकप फुटबल प्रतियोगिताको रौनक चार वर्षपछि सिक्किमले पुनः देख्न पायो। सिक्किम फुटबल एसोसिएशनले चारवटा विदेशी टीमसहित कूल १६ टिमलाई सहभागी बनाएर यस वर्ष गोल्डकप आयोजन गऱ्यो। विदेशी दलमा नेपाल बाहेक अन्य टीमले राम्रो प्रदर्शन त गरेनन् तर सिक्किमकै घरेलु टीम गान्तोक हिमालयन एससी फाइनलसम्म खेलेर सबैलाई चकित बनाइदियो। पहिलोपल्ट प्रतियोगितामा भाग लिएको नर्थ-ईस्ट युनाइटेडले ४०औं अल ईण्डिया गभरनर्स गोल्डकप जितेको। यता राज्यको महिला फुटबल खेलाडीले पनि राम्रो प्रदर्शन गर्दै पहिलोपल्ट राष्ट्रिय खेल प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गराउन सफल भएका छन्। सिक्किमका अन्य विधाका खेलाडीले पनि २०२४ मा राम्रो प्रदर्शनका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिए।

दुर्घटना

२०२४ मा सिक्किमले धेरै वाहन दुर्घटना र यसबाट मानिसहरूले झ्यान गुमाउन परेका घटनालाई देख्नुपऱ्यो। सेप्टेम्बर महिनामा पाकिम जिल्लाको रिनाक-रङ्गेली सड़क मार्गमा सेनाको वाहन दुर्घटनामा परेर चारजना सैनिकले ज्यान गुमाउनु परेको थियो। २८ दिसम्बरमा रङ्गेलीमा भएको पर्टन वाहन दुर्घटनमा कोलकाता पर्यटक आमा—छोरीले ज्यान गुमाए। २९ दिसम्बर बिहान तादोङ बजारमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको थियो। सिङ्ताम-डिक्चु राष्ट्रिय राजमार्ग १२ जुलाईको वाहन दुर्घटनामा एक महिलाको ज्यान गएको थियो। यस बाहेक अन्य दुर्घटनका कारण पनि २०२४ मा केही मानिसहरूको मृत्यु भएको छ।

अन्य

२०२४ को प्रमुख घटनका रुपमा सिक्किमले जनजाति बन्नबाट छुटेका १२ जाति समुदायलाई जनजाति मान्यता दिलाउने गतिलो पहल शुरु गरेको छ। सिक्किमकै नेतृत्वमा ६ जुलाईको दिन सिलगढीमा सिक्किम, दार्जिलिङ र डुवर्सको महत्त्वपूर्ण बैठक भयो। यसपछि सिक्किमले एउटा उच्चस्तरीय समिति गठन गरेर वृहत स्तरमा काम शुरु गरेको छ।

लामो समयदेखि सिक्किमले राष्ट्रिय राजमार्ग १० केन्द्रिय एजेन्सिली दिनुपर्छ भनि गर्दै आएको माग २०२४ मा पूरा भएको छ। भारत सरकारले यस सम्बन्धमा राजपत्र जारी गरेपछि दिसम्बर महिनादेखि पश्चिम बङ्गाल सरकारको जनकार्य विभागले सेभोकदेखि रम्फूसम्म ५२ किलोमिटर राष्ट्रिय राजमार्गको जिम्मेवारी एनएचआईजीसीएललाई हस्तान्तरण गरेको छ।

टिस्सा त्रासादी २०२३ मा बगेका पुल मध्ये यस वर्ष सरकारले सिङ्तामको इन्द्रेणी पुल, सिरवानीमा बेली पुल, डिक्चु नजिक फिदाङमा बेली पुल, साङ्कलनमा बेली पुल निर्माण गर्न सफल भएको छ साथै अन्य स्थानमा सेना र बीआरओले केही पुल निर्माण गरेर टिस्टा त्रासादी पछिको यातायात सहज गराएका छन्।

पर्यटन, मनोरञ्जन, साहित्य क्षेत्रमा सिक्किम सन्तुलित रह्यो यस वर्ष। साहित्यको क्षेत्रमा कथाकार युवा बरालले साहित्य अकादमी पाएका छन्। सङ्गीत र कला क्षेत्रमा सिक्किमका युवाहरूले राष्ट्रिय स्तरमा मान्यता पाएका देखिए। नागाल्याण्डको प्रतिष्ठित हर्नबिल फेस्टिबलमा सहयोगी राज्यका रुपमा यस वर्ष सिक्किमको सहभागिता रह्यो।

सिक्किम पत्रकारिता क्षेत्रमा पनि यस वर्ष सरकारी सहयोग देखियो। सिक्किम सरकारले प्रेस क्लब अफ् सिक्किमको माध्यमबाट पत्रकारहरूका लागि पेन्सन योजना शुरु गऱ्यो। सरकारले विधानसभामा यसका लागि बजेटीय प्रावधान राखेको छ। श्रमजीवि पत्रकारको हितार्थ सरकारले स्वास्थ्य बीमा योजना शुरु गरिदियो भने लामो समयदेखि थाँतीमा रहेको सरकारी विज्ञापनको दर र विज्ञापन कोटालाई पनि समीक्षा गरेको छ।

सिक्किममा राज्यपालको फेरबदल, मुख्यसचिव भीबी पाठकको अवकासपछि आर तेलहाङ नयाँ मुख्यसचिव नियुक्ति, दुईवटा निर्वाचन क्षेत्रमा विधानसभा उपचुनाउ पनि २०२४ का उल्लेखयोग्य घटनामा परेका छन्।  

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह