गान्तोक: हिउँ पर्ने मौसमलाई ध्यानमा राख्दै पर्यटक वाहन चालक र सरोकारवालाका लागि शेराथाङ पुलिसले विषेश सुझाव र दिशानिर्देश जारी गरेको छ। उच्च भेगमा यात्रा गर्ने पर्यटक र स्थानीयको सुरक्षालाई सुनिश्चित गर्नका लागि पुलिसले पर्यटक ओसारपसार गर्ने सबै सवारीसाधनले अग्रिम रूपमा अनुमति लिनुपर्ने सूचित गरेको छ। नयाँ सूचना अनुसार छाङ्गु, शेराथाङ, नाथुला आदि क्षेत्रहरूमा पर्यटकहरूलाई लिएर जाने वाहनले बिहान साढे 10 बजेभित्र 3rd माइल चेकपोस्टबाट पार गरिसक्नु पर्नेछ भने साँझ 5 बजेसम्ममा सबै वाहन फर्किसकेका हुनुपर्छ।
आपतकालीन अवस्थामा तयारीको लागि सवारीसाधनले हिउँ पन्छाउन एउटा बेल्चा अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ। चालकहरूले सवारीसाधनमा हिउँमा चिप्लिन नदिन टायर चेन लगाउन सुनिश्चित गर्नुपर्नेछ। साथै सरसफाइ कायम राख्नका लागि चालकहरूले सवारीसाधनमा फोहोर फाल्नको लागि डस्टबिन वा फोहोर झोला राख्नुपर्नेछ।
यो सूचना शेराथाङ चेकपोस्ट/प्रहरी चौकीका स्टेसन हाउस अफिसरद्वारा जारी गरिएको हो। हिउँदको चुनौतीपूर्ण समयमा यात्रालाई सहज र सुरक्षित बनाउन यस सूचना पालना गर्न विशेष जोड दिइएको छ। यात्रुहरूलाई मौसमको अवस्था र थप निर्देशनहरूप्रति सतर्क रहि यात्रा योजना बनाउन सुझाव दिइएको छ।





