गान्तोक, २८ अगस्त: गान्तोकको मोर्डन उच्चतर माध्यमिक विद्यालयकी शिक्षक याङ्किला लामा राष्ट्रिय शिक्षक पुरस्कारका लागि चयनित भएकी छन्। आगामी पाँच सेप्टेम्बरमा राष्ट्रिय शिक्षक दिवसको अवसरमा उनलाई यो पुरस्कार प्रदान गरिने छ।
याङ्किला लामा २०१२-देखि शिक्षण पेशामा आवद्ध छन्। उनले नाम्ची नजिक मनिराम माध्यमिक विद्यालयबाट शिक्षण शुरु गरेकी थिईन्। यसपछि पाङथाङ निम्न माध्यमिक विद्यालयमा केही सेवापछि अहिले मोर्डन उच्चतर माध्यमिक विद्यालयमा कला विषयक स्नातक शिक्षक (GT) रहेकी छन्।
जानकारी गराइन्छ प्रत्येक वर्ष राष्ट्रिय शिक्षक दिवसको अवसरमा भारत सरकारले विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशहरूबाट चयन गरेर शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्दै आएको छ। सिक्किम सरकारले राज्यका राष्ट्रिय शिक्षक पुरस्कार प्रापक शिक्षकहरूलाई अध्ययन भ्रमणका लागि विदेश पठाउने गरेको छ।





