गान्तोक, ५ सेप्टेम्बरः ग्रामीण क्षेत्रका विद्यार्थी भविष्यलाई ध्यानमा राखेर सरकारले नियुक्त गरेका प्रोबेसनरी शिक्षकहरूको स्थानान्तरण नगराउन सिक्किमका मुख्यमन्त्री पीएस गोलेले शिक्षा विभागलाई निर्देश दिएका छन्। एक पल्ट नियुक्त भएका प्रोबेसनरी शिक्षकहरूलाई स्थायी हुने चार वर्षको मापदण्ड पूरा नभएसम्म नियुक्ति दिएका स्कूलबाट स्थानान्तरण नगराउन मुख्यमन्त्रीले निर्देश दिएका छन्। तथापि शिक्षकहरूको स्वास्थ्य प्रतिकुलताको कारणलाई भने ध्यानमा राखिने उनले बताए। ग्रामीण क्षेत्रका विद्यार्थी हितमा सरकारको यस निर्णयलाई सकारात्मक रुपमा लिइदिन मुख्यमन्त्रीले प्रोबेसनरी शिक्षकहरूलाई पनि आग्रह गरेका छन्। उनले भने, अस्थायी शिक्षकलाई स्थानान्तरण नगरौं नत्र गाउँ बस्तीका स्कूल खाली हुन्छन्। बिहिवार गान्तोकको मनन भवनमा आयोजित शिक्षक दिवस समारोहमा बोल्दै मुख्यमन्त्री पीएस गोलेले एसकेएम सरकार शिक्षा क्षेत्रको सुधारमा गम्भीर रहेको बताए।
पूर्व सरकारले प्राथमिकता नदिएका कारण सिक्किम शिक्षा क्षेत्र दिशाहिन बनेको जसलाई पाँच वर्षको अन्तरालमा एसकेएम सरकारले ट्रेकमा ल्याउने काम गरेको बताउँदै मुख्यमन्त्री गोलेले अब यस क्षेत्रले गति पाउने पनि दावी गरेका छन्। सिक्किमको शिक्षा क्षेत्रमा रुपन्तारण ल्याउन सरकारले यस वर्ष १३ प्रतिशतको बजेट प्रावधान राखेको र भविष्यमा सिक्किमलाई शिक्षाको केन्द्र बनाउने लक्ष्य रहेको बताए।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पीएस गोलेले भने, सरकाउने आउने बित्तिकै शिक्षा प्रणालीलाई सुधार गर्ने पहल शुरु गरेका छौं। पहिलो कार्यकालमा विभिन्न कठिनाइ सामना गर्नुपऱ्यो तर पनि नीति निर्धारण अस्थायी शिक्षकलाई स्थायी गरायौं। यसले उनीहरूमा स्थिरता दिने र सम्मानित जीवन जिउने अवसर मिलेको छ। हामी सरकारमा आउँदा शिक्षा प्रणाली भङ्गालिएको थियो। यसलाई व्यवस्थित बनाएका छौं, अब कुदाउनुपर्छ। सुनौलो, समृद्ध र सामर्थ सिक्किम निर्माण गर्न प्रथम शिक्षा प्रणाली सुधार गर्नुपर्छ। यसका लागि विधायक र मन्त्रीहरूले आ-आफ्नो क्षेत्रमा शिक्षकहरूलाई सहयोग पुऱ्याउनु पर्छ।
शिक्षा क्षेत्रमा पूर्वाधार विकास योजना अन्तर्गत गेजिङ कलेजलाई उत्कृष्ठ पूर्वाधार दिन सकेको साथै राज्यका सबै कलेजलाई राम्रो पूर्वाधार दिने सरकारको योजना रहेको बताए। बुर्तुक कलेजलाई राम्रो पूर्वाधारसहित क्षेत्रभित्रै रिलोकेट गर्ने उनले जानकारी दिए।
मुख्यमन्त्री गोलेले उत्कृष्ट शिक्षकहरूको समूह गठन गरेर राज्यमा मोडल स्कूलहरू निर्माण गर्ने बताएका छन्। सरकारको यस योजनाले मेधावी छात्रावृत्ति योजनाबाट राज्य बाहिरका स्कूलमा विद्यार्थी पढाउनु नपर्ने उनको भनाइ छ। मेधावी छात्रावृत्ति योजना अन्तर्गत हुने खर्चले राज्यमा नै मोडल स्कूलहरूको निर्माण गर्न सकिने जसको फाइदा छात्रावृत्ति पाएका विद्यार्थी र आफ्नो खर्चमा पढ्ने विद्यार्थी दुवै समूहले उठाउन सक्ने मुख्यमन्त्रीको भनाइ छ।
शिक्षक दिवसको अवसरमा पुरस्कृत शिक्षकहरूलाई बधाई दिंदै मुख्यमन्त्रीले सिक्किममा शिक्षकहरूलाई शिक्षक दिवसमा मात्रै होइन सधैं सम्मान गर्ने पराम्परा विकास गर्नुपर्ने आवस्यक्ता माथि जोड़ दिए। तथापी उत्कृष्टताको आदारमा पाउने पुरस्कारमा पनि जातको कोटा खोज्ने सोच विकसित भएको छ भन्दै यसबाट समाजको सोच परिवर्तन हुनुपर्ने बताए। उनले भने, पुरस्कार जातले होइन उत्कृष्ठले पाउने पुरस्कार हो, यसलाई राजनीतिकरण गर्नु हुदैन।
मुख्यमन्त्रीले सुनौलो, समृद्ध तथा सामर्थ सिक्किम निर्माणका सहयोगी शिक्षकहरूप्रति आभार व्यक्त गरे साथै यस कार्यमा थप सहयोगको अपेक्षा गरे। सिक्किम सरकारले राज्य पुरस्कार र राष्ट्रिय पुरस्कार प्रापक शिक्षकहरूका लागि अध्ययन भ्रमण आयोजन गर्दै आएको छ भने अब प्रसस्तिपत्र प्रापक शिक्षकहरूलाई पनि भ्रमणमा पठाउने घोषणा गर्दै विभागलाई सरकारमा प्रस्ताव पठाउन निर्देश दिएका छन्।





