गान्तोकः सिक्किम प्रदेश भाजपा डीआर थापाको नेतृत्वमा एक उच्चस्तरीय प्रतिनिधिमण्डलले आज राज्यपाल ओमप्रकाश माथुरलाई राजभवन, गान्तोकमा भेट गरी एक ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनमार्फत प्रतिनिधिमण्डलले हालै राज्यभर देखिएका तथा जारी रहेका राजनीतिक हिंसा, विपक्षीहरूमाथि लक्षित आक्रमण तथा चुनाउपछिको प्रतिशोधपूर्ण गतिविधिहरूको विषयमा गम्भीर चिन्ता व्यक्त गरेको भाजपा सिक्किमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ। विज्ञप्तिअनुसार, प्रदेश भाजपा सिक्किमले लोकतान्त्रिक अभ्यास संकुचित हुँदै गएको र राज्यको रणनीतिक सीमावर्ती अवस्थालाई ध्यानमा राख्दा सुरक्षा र शान्तिको अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गरेको छ।
राज्यपालले प्रतिनिधिमण्डलद्वारा उठाइएका मुद्दाहरूलाई ध्यानपूर्वक सुनेर घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै आवश्यक गम्भीरता पूर्वक विषयको अध्ययन र पहल गरिने आश्वासन दिएका बताइएको छ।
भेटका क्रममा भाजपा सिक्किमले राज्यमा लोकतान्त्रिक मूल्य, सामाजिक शान्ति तथा संस्थागत जवाफदेहिताको संरक्षण हुनु आवश्यक रहेको स्पष्ट पारेको थियो।





