गान्तोक : सिटिजन एक्सन पार्टी सिक्किम (सीएपी-सिक्किम) ले गान्तोकमा मेगा मल निर्माणको विषयमा चिन्ता व्यक्त गर्दै राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) लाई हस्तक्षेप गर्न आग्रह गरेको छ। सीएपी-सिक्किमको एक प्रतिनिधिमण्डले उपाध्यक्ष भूषण अधिकारीको नेतृत्वमा नयाँ दिल्लीमा एनडीएमए सदस्य राजेन्द्र सिंहसँग भेटेर वेस्ट प्वाइन्ट मल, स्टार मल र युनिटी मल जस्ता परियोजनाहरू तत्काल रोक्न माग गर्दै एक ज्ञापनपत्र बुझाएको छ।
सिक्किम भूकम्पको उच्च जोखिम भएको सिस्मिक जोन IV मा परेकाले यी निर्माणहरूले भूकम्पीय सुरक्षा मापदण्ड, वातावरणीय कानुन र सिक्किमको भवन नियमहरू उल्लंघन गरेको पार्टीले बताएको छ।
सीएपी-सिक्किमले राज्य सरकारमाथि व्यावसायिक लाभका लागि जनताको सुरक्षा र नाजुक हिमालयी पर्यावरणलाई जोखिममा पारेको आरोप लगाएको छ। सीएपीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ “पार्टीको निरीक्षणले आईआईटी जस्ता संस्थाहरूबाट प्राप्त विशेषज्ञ चेतावनीलाई बेवास्ता गरिएको छ।”
राजेन्द्र सिंहले तत्काल कारबाहीको आश्वासन दिँदै सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरणबाट विस्तृत प्रतिवेदन माग्ने प्रतिबद्धता जनाएको जानकारी गराईएको छ। सीएपी-सिक्किमले यो मुद्दालाई प्रधानमन्त्री र गृहमन्त्रीसम्म पुर्याउने योजना बनाएको छ साथै गान्तोकलाई सम्भावित प्रकोपबाट जोगाउन नागरिक र कार्यकर्ताहरूलाई आफ्नो अभियानमा सामेल हुन आह्वान गरेको छ।





