गान्तोक, २९ अगस्तः सुब्रतो कप अन्डर १७ फुटबल प्रतियोगितामा यस पल्ट सिक्किमलाई सोमबारे सरकारी उच्चतर माध्यामिक विद्यालयले प्रतिनिधित्व गर्नेछ। सिक्किमका पूर्व फुटवल खेलाडी सञ्जु प्रधानको नेतृत्वमा अन्डर १७ टोलीले प्रतियोगितामा भाग लिने भएको छ।
सुब्रतो कप २०२४ का लागि चयनित भएको सोमबारे विद्यालयको टोलीले बिहिवार मुख्यमन्त्री पीएस गोलेसँग भेट गरे। यस भेटको अवसरमा मुख्यमन्त्रीले प्रतियोगितामा भाग लिने टोलीलाई शुभकामना दिएका छन्। “टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर सिक्किमे सबैका लागि ठूलो सम्मान र प्रशंसा ल्याओस्” भन्दै मुख्यमन्त्रीले शुभकामना दिएका छन्।
नव प्रतिभाशाली फुटबल टोलीसँगको भेटघाटपछि मुख्यमन्त्री गोलेले भनेका छन्, “फुटबल सधैं मेरो लागि जुनून भएको छ। अन्डर-१७ सुब्रतो कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा हाम्रो राज्यको प्रतिनिधित्व गर्ने सोमबारे सरकारी उच्चतर माध्यमिक विद्यालयका प्रतिभाशाली युवा खेलाडीहरूसँग भेट हुनु साँच्चै प्रेरणादायी थियो। हाम्रो गौरव, सम्मानित अन्तर्राष्ट्रिय फुटबलर सञ्जु प्रधानको नेतृत्वमा रहेको सम्पूर्ण टोलीलाई म शुभकामना व्यक्त गर्दछु।”





