गान्तोक: बुधबार 5 फरवरीमा सम्पन्न सिक्किम विधानसभाले सिक्किम नगरपालिका (संशोधन) विधेयक सहित कुल सात विधेयक सदनमा पेश गर्यो। यी सबै विधेयक माथि आगामी विधानसभा सत्रमा चर्चा परिचर्चा हुनेछ।
विधानसभाले सिक्किम मोटर भेकल कर (संशोधन) विधेयक 2025, स्वस्तिक विश्वविद्यालय, सिक्किम, विधेयक, 2025,
ट्राइडेन्ट युनिभर्सिटी अफ एप्लाइड साइन्सेस, सिक्किम, विधेयक, 2025, श्री वेंकटेश्वर विश्वविद्यालय विधेयक, 2025, सिक्किम मोडेल स्कूल विधेयक, 2025 र सिक्किम पब्लिक डिमान्ड्स रिकभरी (संशोधन) विधेयक, 2025 लाई पनि सदनमा पेश गरेको छ।
आजकै सदनमा गत उपचुनाउमा निर्विरोध चुनिएका सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चाका दुई उम्मेद्वार सोरेङ-च्याखुङ समष्टिका आदित्य गोले र नाम्ची सिङ्गीथाङका सतिश चन्द्र राईलाई आधिकारिक रुपमा विधायकको शपथ पनि ग्रहण गराइयो। विधानसभा अध्यक्ष एमएन शेर्पाले दुवै निर्वाचित विधानसभा सदस्यलाई विधायक पदको शपथ ग्रहण गराए। यसको साथै आज विधायकको रुपमा शपथ ग्रहण गरेका सदस्यहरू आदित्य गोले र सतिश चन्द्र राईलाई नै विधानसभाको नयाँ एस्टिमेट कमिटीका सदस्यहरू पनि चुनिएको छ। मन्त्री राजु बस्नेतले दुई विधायकको नाम प्रस्ताव गरेका थिए जसलाई मन्त्री भीम हाङ लिम्बूले समर्थन जनाए। पछि विधानसभा अध्यक्ष शेर्पाले दुई सदस्यमध्ये विधायक आदित्य गोलेलाई एस्टिमेट कमिटीको अध्यक्ष मनोनित गरे।
सदनको कार्यवाहीको समापनपछि धन्यवाद प्रस्ताव राख्दै सदनका नेता तथा मुख्यमन्त्री पीएस गोलेले आफ्नो सरकारले शान्ति, सद्भावना र सर्व धर्म समानको नीति अप्नाएर सिक्किम राज्यलाई विकासको दिशामा अघि बढ़ाइरहेको बताए। यसको साथै उनले आफ्नो जीवनको अन्तिम क्षणसम्म गरीब दुखीहरूको निम्ति सेवा धर्मलाई निरन्तरता दिने प्रतिवद्धता पनि जाहेर गरे।





