गान्तोक: सोमबार गान्तोकमा आयोजित रोजगार मेलाको अवसरमा केन्द्रिय राज्यमन्त्री प्रतापराव जाधवको बाहुलीबाट कूल 80 जना युवाले रोजगार नियुक्ति पत्र प्राप्त गरेका छन् । यसमा सिक्किमका 20 जना युवा रहेका छन्। प्राप्त जानकारीअनुसार सिक्किमबाट केन्द्रिय सुरक्षा बल अन्तर्गत एसएसबीमा 3 जना, आईटीबीपीमा 13 जना र सिआरपीएफमा 4 जना युवाले रोजगारी पाएका छन्।
आयुष तथा स्वास्थ्य एवं परिवार कल्याण राज्यमन्त्री प्रतापराव जाधव भारत-तिब्बत सीमा पुलिसको (आइटीबीपी) सहयोगमा तादोङ, गान्तोकमा आयोजित रोजगार मेला 2024 मा सहभागी बनेर युवाहरूलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।
राज्यमन्त्री जाधवले नियुक्ति पत्र पाउने सबै युवालाई हार्दिक बधाई दिए। प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पना अनुरूप वर्ष 2047 सम्म भारतलाई विकसित बनाउनु युवा पिँढीको हातमा रहेको उनले बताए। भारत सरकारले कैयौं केन्द्र सरकारमा भर्ना प्रक्रियालाई सहज बनाएको पनि उल्लेख गरे। प्रत्येक केन्द्र सरकारका कर्मचारी कर्मयोगी रहेको उल्लेख गर्दै आज नियुक्ति पत्र पाउने युवाहरूले भारतको विकास क्रममा उल्लेखनीय योगदान दिने कुरामा आशावादी रहेको बताए।
प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनद्वारा 22 अक्टोबर 2022 को दिन शुभारम्भ गरिएको रोजगार मेला राष्ट्र निर्माणका साथै विकसित भारत@2047 का लागि स्वसशक्तिकरणका लागि युवाहरूको सहभागितामा अर्थपूर्ण अवसरहरू प्रदान गर्न लक्षित छ। आज प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्सिङको माध्यमद्वारा नवनियुक्त युवाहरूबीच 71 हजारभन्दा धेरै नियुक्ति पत्र वितरण गरे। गान्तोकमा आयोजित कार्यक्रममा केन्द्रिय राज्यमन्त्री प्रतापराव जाधवको बाहुलीबाट कूल 80 जना युवाले नियुक्ति पत्र प्राप्त गरे।
रोजगार मेला 2024 देशको 45 वटा स्थानमा आज आयोजित गरिएको थियो। केन्द्र सरकारको विभिन्न मन्त्रालय अनि विभागका लागि नियुक्ति पत्र प्रदान गरिएको हो। देशव्यापी रूपमा चयन भएका नवनियुक्त युवाहरू अन्यका साथसाथै गृह मन्त्रालय, डाक विभाग, उच्च शिक्षा विभाग, स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय, वित्तीय सेवा विभाग लगायतमा सामेल हुनेछन्।
कार्यक्रममा भारत-तिब्बत सीमा पुलिसका पङ्कज भगतले धन्यवाद ज्ञापन पेश गरे। केन्द्रिय राज्यमन्त्रीका साथमा उनका सल्लाहकार डा. सचिन परहद, उनका अतिरिक्त पीएस अर्जुन चौधरीका अतिरिक्त आइटीबीपी अनि सम्बन्धित विभागका अधिकारीहरू पनि उपस्थित थिए।
समाचार स्रोत- (पीआइबी)





