विश्व प्रसिद्ध चिया उत्पादन हुने दार्जीलिङ पहाड आफ्नै क्षेत्रमा कालो वास्तविकता लिएर अघि बढ्दैछ। यस क्षेत्रका चिया श्रमिकहरूको अवस्था र उनीहरूले आफ्नो हकका लागि वर्षैपिच्चे गर्नुपर्ने आन्दोलन र सङ्घर्ष टर्रो बनाउदैछ दार्जीलिङको चियालाई। दार्जीलिङका ८७ वटा चिया बगानमा लगभग ५०,००० देखि ६०,००० सङ्ख्यामा रहेका चिया श्रमिककले प्रत्येक वर्ष गर्नुपर्ने विरोध र प्रदर्शनले उनीहरूसँग कहिलै पूरा नभएक वाचाहरूको कथा सुनाउँदै आएको छ। वार्षिक गर्नुपर्ने प्रदर्शनहरूले श्रमिकहरूका अहिलेसम्म सुनवाइ नभएका उनीहरूको निराशा र असन्तोषलाई प्रकट गरिरहेको छ। यी सङ्घर्षशील कथा र दिनप्रतिदिन जटिल बन्दै गएका मुद्दालाई स्थायी समाधान गर्ने ठोष पहल छैन, श्रमिकहरूका दयनीय कथा बुझिदिने व्यवस्था अहिलेसम्म बनिएको छैन्।
दार्जीलिङका चिया कमानमा कार्यरत श्रमिकहरू प्रत्येक वर्ष सडकमा उत्रिएर आफ्नो अधिकारका लागि प्रदर्शन गर्न बाध्य हुन्छन्। लगभग ६० करोड रुपियाँ कुल खर्च आउने बोनसको माग गर्दा, व्यवस्थापनको तर्फबाट यी मागहरूलाई पूरा नगर्नु भनेको यस उद्योगमा लामो समयदेखि भएको बेवास्ता र शोषणको प्रमाण हो। बारम्बारका प्रदर्शनले श्रमिकहरूको जीवनमा अवरोध मात्र पुऱ्याएको छैन तर यसले उनीहरूलाई गरीबीको चक्रमा फसाइएको संरचनात्मक अन्यायलाई पनि उजागर गर्दैछ।
चिया श्रमिकका बोनस मुद्दालाई जटिल बनाउने तत्व भनेको राजनीतिक परिप्रेक्ष्य हो। नेताहरू यस मुद्दाको स्थायी समाधान खोज्नभन्दा श्रमिकहरूको संघर्षलाई आफ्नो फाइदाको लागि प्रयोग गर्न बढी रुचि राख्दछन । नेताहरूले वास्तविक मुद्दामा राजनीतिक लाभ लिन चहाँदा शोषण बढ्दछ जस्ले श्रमिकहरूको सङ्घर्षलाई कमजोर बनाउँदछ र संवाद र समाधानको सम्भावनामा पनि अवरोध खडा गर्दछ। तर यो वास्तविकतालाई नेताहरूले अहिलेसम्म नबुझ्दा श्रमिकहरू पचासौं वर्षदेखि एउटै मुद्दामा आन्दोलन गर्न बाध्य छन् अनि नेताहरू यसको फाइदा लिन आतुर।
दार्जीलिङको चिया उद्योग पहिला समृद्धिको प्रतीक थियो, अहिले सङ्कटमा पुगेको छ। यहाँका श्रमिकहरूले केवल बोनसको माग मात्र गर्दै छैनन्; उनीहरू न्याय, गरिमा, आफ्नो मेहनत र योगदानले मान्यता पाउनुपर्ने माग गर्दैछन्।
दार्जीलिङ पहाडी क्षेत्रका चिया श्रमिकहरूलाई न्याय दिलाउन व्यवस्थापन, राजनीतिक नेताहरू र समाजले निष्पक्ष दृष्टि र श्रम अधिकारहरूको महत्त्वलाई बुझ्नुपर्ने अत्यावश्यकता देखिन्छ। यहाँको नेतृत्वपङ्क्तिले दिगो समाधानलाई प्राथमिकता दिनुपर्छ। यसो हुन सकेमात्र नियोक्ता र श्रमिकहरू माझको साझेदारीलाई प्रोत्साहित गर्दछ साथै दुवै पक्षलाई पारस्परिक लाभ सुनिश्चित हुन्छ। श्रमिकहरूका जीवनयापनमा प्रभाव पार्ने आवाजहरू सुनवाइ हुनुपर्छ, उनीहरूका अधिकारका कुरा मुनाफाको मनोविज्ञानमा अड्किनु हुँदैन।
उदाहरणका लागि हेर्ने हो भने देशमै सबैभन्दा धेरै चिया उत्पादन गर्ने असम राज्य कहिलै पनि बोनस विवादमा परेको देखिंदैन। यो मालिक र श्रमिक पक्षका आपसी समझदारी र राज्य नेतृत्वका कारणले हो। दार्जीलिङको सन्दर्भमा यस्तो कहिलै भएन। १९९० को दशकदेखि लगातार बोनस आन्दोलन देख्दै आएको विषय हो। यसलाई अब स्थायी समाधान गराउनु अनिवार्य छ। सम्बन्धित सबै पक्ष श्रमिकहरूका अधिकारको लागि खडा हुनुपर्छ। सत्ता र शक्तिमा भएका व्यक्तिहरूबाट जवाफदेहीताको माग गर्नुपर्छ। एकजुट प्रयासले मात्र दार्जीलिङका चिया श्रमिकहरूको आवाजलाई सम्मानपूर्वक सुन्वाइ गर्न सक्ने भविष्य सिर्जना गर्न सकिन्छ। विषय केवल चिया श्रमिकबारे होइन, यो न्याय, समानता र हरेक श्रमिकको मानव गरिमा र मान्यताको कुरा हो।